पुरुष शरीरभित्रको महिला मनोविज्ञानमा आधारित म्यूजिक भिडियो ‘परिचय’ हेर्नुहोस्

मलाई बाँच्न देऊ सृष्टिमा, ठाउँ छ भने मेरा लागि
लुकाएर आफ्नै परिचय, कहाँ–कहाँ जाऊँ भागी !
यस्तै छु म, मलाई रङ्ग मन पर्छ
मन पर्छ गुन्यु–चोली
तिमीले बुझेनौं आज, के संसारले बुझ्ला र भोलि ?’
तेस्रो लिंगीको परिचय नबुझ्ने समाजलाई एउटा शिक्षा स्वरुप भिडिओ सर्वजनिक भएको छ। पुरुष शरीरभित्रको महिला मनोविज्ञानमा आधारित ‘परिचय’ नामक यो म्युजिक भिडियाे अत्यन्त मार्मिक र मनोबैज्ञानिक कला ले भरिएको छ।
शुक्रबार गीतकार नमिता दवाडीको आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक भएको भिडियाेमा ‘एलजिबिटीक्यु’ अर्थात् तेस्रो लिङ्गीहरूको अस्तित्वको खोज र उनीहरूको जीवन सङ्घर्षको कथालाई झल्काउन खोजिएको छ ।
साथै उनीहरूले समाजबाट भोग्नुपरेको पीडा–हेयभावमाथि प्रश्न थोपर्न खोजिएको छ । ‘यस गीतमा तेस्रो लिंगीको कहानी राखिएको छ।
तेस्रो लिङ्गी भएर जन्मिएकाहरूले बाल्यवस्थादेखि नै आफ्नो परिचय बुझाउन गरेको अथक कोसिसले सफलता नपाएपछि संसारबाट नै बिलिन हुनु परेको कथा भिडियाेमा प्रस्तुत गरिएको ।
काठमाडौं–भक्तपुरका विभिन्न स्थानमा छायाङ्कन गरिएको भिडियाेमा कमल सिंह, नुर दाहाल, सुवास दाहाल र रानु निरौलाको अभिनय देख्न सकिन्छ । त्यसबाहेक लिपिका दाहाल, रविन ओली, नम्रता शर्मा, रमेश पराजुलीको सह–भूमिका छ।
बालकलाकार आरभ प्रधान, सुगम भट्टराई, सुज्यना खड्का, सायरा खड्का, रुशा श्रेष्ठ र मानव सापकोटाको पनि अभिनय रहेको छ।
गीतमा ज्ञानेन्द्र गिरीको सङ्गीत छ भने शब्दरचना नमिता दवाडीको छ। विशाल निरौलाको एरेन्ज रहेको गीत रन्जन राई को मिक्स मास्टरिङ अलंकार स्टुडिओमा रेकर्ड गरिएको हो ।