थुलुङ दूधकोशीले सञ्चालनमा ल्यायो एम्बुलेन्स सेवा, सुत्केरी र जेष्ठ नागरिकलाई निःशुल्क

सोलुखुम्बु । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले यहि महिना (साउन)देखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो । त्यसोत गाउँपालिकाले यसअघि नै स्थानीय नागरिकहरुको सहयोगमा दूधकोशी सामुदायिक अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।
मुक्लीमा अवस्थित उक्त अस्पतालमा एमडीजीपी डक्टरको समेत यहि महिना नियुक्ती गरेको पालिकाले जिल्लामै उत्कृष्ट स्वास्थ्य सेवा दिने नीति लिएको जानकारी गराइएको छ । सामान्य उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताको अन्त्य गर्नको लागि पुर्वाधार, उपकरण र चिकित्सकको व्यवस्था गरिएको पनि पालिकाले जनाएको छ ।
पालिकाका प्रवक्ता भोजराज कार्कीका अनुसार अबदेखि गाउँपालिकाका मातहतमा ल्याइ उक्त अस्पताल सञ्चालन गर्ने गरी कार्यपालिकाबाट निर्णय समेत गरिएको छ ।
सुत्केरी र जेष्ठ नागरिकलाई निःशुल्क सेवा
गाउँपालिकाले भर्खरै सञ्चालनमा ल्याएको एम्बुलेन्समार्फत् सुत्केरी महिला र जेष्ठ नागरिकले निःशुल्क सेवा प्राप्त गर्ने भएका छन् । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार सुत्केरी र जटिल अवस्थाका गर्भवति महिला, ८० वर्ष माथिका जेष्ठ नागरिक र पूर्ण अपाङ्गता भएकाहरुलाई निःशुल्क सेवा दिइने जानकारी गराइएको छ ।
योसँगै यहाँका नागरिकले महङ्गो भाडामा गाडी रिजर्भ गरी अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीबासीको भनाइ छ । पालिका अध्यक्ष असिम राईले नागरिकको हितमा काम गर्नु सरकारको दायित्व भएकाले सोही अनुसार नीति निर्माण गरी काम गरिरहेको बताएका छन् ।
यसका साथै अध्यक्ष राईले जुनसुकै क्षेत्रको निर्णय गर्दा पनि आफ्ना नागरिकलाई केन्द्रमा राखेर गरिएको बताएका छन् ।