राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम सरकारले गर्यो : कुलमान घिसिङ

काठमाडौं । पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणबाट बिदा भएपनि राष्ट्रप्रति आफ्नो जिम्मेवारी कहिल्यै कम नहुने स्पष्ट पारेका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारको निर्णयप्रति अप्रत्यक्ष असन्तुष्टि जनाउँदै जनताको मायाले आफूलाई हार्न नदिएको बताए।
उनले नेपालका जनतालाई गुणस्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत् आपूर्ति दिने उद्देश्यले इमान्दारीपूर्वक खटिएका राष्ट्रसेवक कर्मचारीमाथि सरकारले अन्याय गरेको आरोप लगाए। घिसिङले केही व्यक्ति, समूह वा शक्तिले आफूलाई अपदस्थ गरेर आफूलाई सफल ठानेको बताउँदै त्यसप्रति व्यंग्य पनि गरे।
उनका अनुसार, कानुनले तोकेको कर्तव्य पूरा गर्दै गर्दा राज्यको सम्पूर्ण शक्ति कसरी एक इमानदार कर्मचारीमाथि प्रयोग भयो भन्ने कुरा जनता स्वयं जानकार छन् । उनले सर्वसाधारणबाट प्राप्त माया र समर्थनले आफूलाई सधैं प्रेरणा दिने बताए।
कार्यक्रममा उनले आफ्नो कार्यकालमा भएका उपलब्धिहरू पनि प्रस्तुत गरे । केही दिनअघि मात्र सरकारले घिसिङलाई पदमुक्त गरी हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।