सुनको मूल्यमा भारी वृद्धि, पुग्यो २ लाख नजिक

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँले वृद्धि भई १ लाख ९७ हजार ९०० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन यो मूल्य १ लाख ९१ हजार रुपैयाँ थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेकोले यसको असर नेपाली बजारमा पनि देखिएको हो। सञ्चारमाध्यमहरूका अनुसार सुनको भाउ अझै बढ्ने संकेत देखिएको छ। महासंघका अनुसार यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। सोमबार तोलामा १ हजार ९६० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा पुगेको छ।