कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा, वैशाख ११ गतेदेखि, सञ्चालन गर्ने निर्णय गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बिहान बैठक बसेर शिक्षकहरूको आन्दोलनका बीच पनि परीक्षा गराउने निर्णय गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले आन्दोलनरत शिक्षकहरूलाई परीक्षामा सहभागी हुन पुनः आग्रह गर्ने निर्णय बैठकमा गरिएको जानकारी दिए । साथै, आवश्यक परेमा निजामती कर्मचारी खटाएर परीक्षा सञ्चालन गरिनेछ।
बैठकमा अधिकांश सदस्यहरूले परीक्षा रोक्न नहुने र प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई थप जिम्मेवारी दिइनुपर्ने धारणा राखेका थिए। एक सदस्यका अनुसार सीडीओ संयोजक रहने गरी जिल्ला समन्वय समिति मार्फत परीक्षा सञ्चालनको तयारी गरिनेछ।
बैठकमा यस्तो पनि भनिएको छ कि निजामती कर्मचारीले लोकसेवा आयोगको परीक्षा सञ्चालन गर्न सक्छन् भने कक्षा १२ को पनि सजिलै गराउन सक्छन् । यद्यपि, सबै शिक्षक आन्दोलनमा नरहेकाले उपलब्ध शिक्षकहरूलाई प्राथमिकता दिइने र आवश्यक परेमा वैकल्पिक व्यवस्था अपनाइने बोर्ड अध्यक्ष शर्माले बताए ।