मुख्य प्रशिक्षक पुबुदु दाशानायकेले दिए राजीनामा

काठमाडौं । दोस्रो पटक नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका क्रिकेट प्रशिक्षक पुबुदु दाशानायकेले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् । स्कटल्याण्ड भ्रमणअघि नै नेपाल क्रिकेट संघ (क्यान)मा राजीनामा बुझाएका प्रशिक्षक दाशानायकेले बुधवार पत्रकार सम्मेलन गरेर सञ्चार माध्ययमा राजीनामा दिएको बताएका हुन् ।
खेलाडी र क्यानबीच विवाद भइरहँदा दोस्रो पटक नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका पुवुदबाट नेपाली क्रिकेट टोलीले धेरै अपेक्षा राखेको थियो । तर, आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्टकल्याण्डमा सम्पन्न त्रिकोणात्म श्रृंखला नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक आलोचित भएका थिए ।
भ्रमणमा नेपालले चारमध्ये तीन खेल गुमाएपछि प्रशिक्षक आलोचित भएका थिए । यद्यपि दाशानायकेले भ्रमण अघिनै राजीनामाको पत्र क्यानमा पठाएका थिए । बुधबारको पत्रकार सम्मेलनमा पुबुदुले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए । उनले कठीन अवस्थामा नेपाली टोलीलाई सम्हाल्दै अगाडि बढाउन नसकेको स्वीकार गरे ।
स्कटल्याण्ड भ्रमणअघि नेपालले अमेरिका भ्रमण गर्दा पनि खराब प्रदर्शन गरेको थियो । सो भ्रमणमा नेपालले चार मध्ये एक खेल जितेको थियो भने दुई खेलमा नतिजा सुम्पिएको थियो । एक खेल भने वर्षाका कारण ‘टाई’ भएको थियो । औपचारिक रुपमा आज पदबाट राजीनामा घोषणा गरेका दाशानायकेले अहिलेको नेपाली टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको र टोली एक नै भएको प्रतिक्रिया जनाए ।
उनले १२ महिनाभित्र युवा टोलीले राम्रो नतिजा निकाल्ने बताए । सन् २०११ देखि २०१५ सम्म पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सम्हाल्दा नेपाली टोलीले पहिलो ट्वान्टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा भएको उक्त प्रतियोगितामा नेपालले प्रारम्भिक चरणमा प्रतिष्पर्धा गरेको थियो ।
साथै उनकै प्रशिक्षणमा नेपालले डिभिजन चार देखि डिभिजन एक सम्मको यात्रा पक्का गरेको थियो । ग्रेडिङको विषयलाई लिएर खेलाडी र क्यानबीच विवाद आएपछि क्यानले पुबुदुलाई अनुभवको आधारमा जिम्मेवारी दिएको थियो ।