थुलुङ दूधकोशी : सुकेपोखरीमा १५ शैय्याको अस्पताल बन्ने

सोलुखुम्बु । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा १५ शैय्याको अस्पताल बन्ने भएको छ । गाउँपालिका अध्यक्ष असिम राईले सोसल मिडिया फेसबूकमार्फत् थुलुङ दूधकोशीका वडा नम्बर ४, ५ र ९ का जनताहरुको स्वास्थ्यमा पहुँचमा पु¥याउनका लागि सुकेपोखरीमा १५ शैय्या ‘थुलुङ दूधकोशी’ नामको अस्पताल बन्न लागेको जानकारी गराएका हुन् ।
अध्यक्ष राईले भनेका छन्, ‘थुलुङ दूधकोशी गाउँपालिका वडा नं ४, ५ र ९ का जनताहरुको लागि एकपछि अर्को खुशीको खबर । करिब १९ करोडको लागतमा सुकेपोखरीमा १५ शैय्याको थुलुङ दूधकोशी अस्पताल यस्तो बन्नेछ । इच्छुक योग्यता पुगेको निर्माण कम्पनीले आजको मितिले १ महिनाभित्र ई–बिड (E-BIDD) गर्न सक्नुहुनेछ ।’
यसका साथै अध्यक्ष राईले मुक्लीमा निर्माणाधीन ५० शैय्याको दूधकोशी सामुदायिक अस्पताल आगामी सोज ५ गतेबाट विधिवत् रुपमा सञ्चालनमा आउने जानकारी पनि गराएका छन् । उनले भनेका छन्, ‘५० शैय्याको दूधकोशी सामुदायिक अस्पताल यहि असोज ५ गतेबाट विधिवत् रुपमा सञ्चालन हुने जानकारी गराउदछु ।’