अमेरिकाको एट्लान्टिक ओसनको किनारमा किराँत राईहरूको ग्रिष्मकालीन वनभोज (तस्वीर)

- शेखर राई/राकेश राई,
न्यूह्यम्सायर (अमेरिका) । यूनाइटेड किराँत राई अर्गनाइजेशन आफ अमेरिका (यूकेआरओए) न्यू इङ्गल्याण्ड च्याप्टरले आफ्नो वार्षिक कार्यतालिका अनुसार ग्रिष्मकालीन वनभोज कार्यक्रम सम्पन्न गरेको छ । यूकेआरओएले गत २१ आगष्टमा संस्थाका सदस्यहरु तथा नव आगन्तुक पाहुनाहरुको बाक्लो उपस्थितिमा एटलान्टिक ओसनको किनारमा आफ्नो ग्रिष्मकालीन वनभोज कार्यक्रम सम्पन्न भव्य रूपमा सम्पन्न गरेको हो ।
न्यू ह्यम्पसायर राज्यको न्यू क्यासल टाउनस्थित न्यूक्यासल कमन्स पार्कमा विविध मनोरञ्जनात्मक कार्यक्रमसहितको उक्त वनभोज कार्यक्रममा न्यूयोर्क, बोष्टन म्यासाचुसेटस् र न्यूहाम्सायर राज्यमा बसोबास गर्दै आएका किराँत परिवारहरु तथा आमन्त्रित पहुनाहरू समेत गरी २०० जनाको सहभागिता रहेको थियो ।
उक्त वनभोज कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, फिप्ना तथा एनआरएनए, एनसीसीका पूर्व अध्यक्ष शिव कुमार राई, पूर्व केन्द्रीय अध्यक्ष विष्णु कुमार राई, कानूनी सल्लाहकार सुरेश चाम्लिडः राई, संस्थापक सदस्य धौलावीर राई, कल्चर संयोजकद्वय गुल्सन राई र लक्ष्मी कुमार राई, संस्थाका वरिष्ट सदस्य धर्म कुमारी राई, पशुपति गुरूङ्ग अन्तर्राष्ट्रिय साहित्य समाज, म्यासाचुसेट् च्याप्टर अध्यक्ष दीपा राई पुन, न्यूहाम्सायर नेपाली समाजका संस्थापक अध्यक्ष मिन गौतम तथा वर्तमान उपाध्यक्ष लाक्पा शेर्पा, गुरूङ्ग समाज न्यूह्याम्सायरका प्रतिनिधि सदस्य याम घले तथा वोष्टन फूटबल टिमका अध्यक्ष विमल रेग्मीको उपस्थिति थियो ।
यूकेआरओएले वोष्टन फूटबल टिमको आयोजनामा हालै सम्मन्न गरेको गेमको लागि आर्थिक सहयोग गरेवापत् टिमको तर्फबाट अध्यक्ष विमल रेग्मीले संस्था प्रति आभार प्रकट गर्दै यूकेआरओए इङ्गल्याण्ड च्याप्टरका अध्यक्ष कर्ण राईलाई प्रशंसा पत्रसहित ट्रफी प्रदान गरेका थिए । उक्त ट्रफी र प्रसंशा पत्र ग्रहण गर्दै अध्यक्ष राईले बोस्टन टिमसँगको प्रगाढ सम्बन्धबारे प्रकाश पार्दै निकट भविष्यमा संस्थाले आपसी सहकार्य गरी वोष्टनमा एक बृहत फूटबल खेलको आयोजना गर्ने योजना रहेको जानकारी गराए ।
यूकेआरओएले विद्यार्थी भाई–बहिनीहरुको ग्रिष्मकालीन दुई महिने लामो विदाको अन्त्यसँगै नयाँ शैक्षिक सत्र शुभारम्भ हुनु भन्दा ठीक अगाडि आफ्नो सम्पूर्ण सदस्यहरुमा भाईचारा, बन्धुत्व र मित्रताको भावना मजबुत बनाउने उदेश्यका साथ सन् २०१६ देखि निरन्तर रुपमा ग्रिष्मकालीन वनभोज कार्यक्रमको आयोजना गर्दै आएको थियो । तर, बीचमा कोरोना महामारीका कारण सन २०२० र २०२१ दुई वर्ष भने संस्थाले ग्रिष्मकानीन वनभोजको आयोजना गर्न सकेको थिएन ।
तर, कोरोना महामारी रोकथामका लागि विभिन्न खोप (भ्याक्सिनहरु)को आविस्कारसँगै मानव जीवन सहजतातर्फ उन्मुख भइरहेको अवस्थामा यो वर्षदेखि पूनः ‘यूकेआरओए समर पिकनिक’ लाई निरन्तरता दिइएको च्याप्टरका अध्यक्ष राईले बताए । उनले संस्थामा आबद्ध भएका नयाँ सदस्य तथा अमेरिकामा पारिवारिक भ्रमणमा रहेरका मनि कुमार राई, निलम राई, विमला चाम्लिङग् राई, सरिना राई, शान्ति सुब्बा, असन राई र पवना राईलाई खदा लगाई स्वागत तथा सम्मान गरेका थिए ।
त्यस्तै पाहुनाहरूले संस्थाको लोगो अंकित स्वगत केक पनि सामूहिक रूपमा काटेका थिए । सोही अवसरमा दुई बालिका भूमिका राई र लिली होस्फिल्डले ख्ष्यष्लिको सुमधुर स्वगत धून पनि प्रस्तुत गरेका थिए । अध्यक्ष राईले पाहुनाहरूलाई स्वागत गर्ने क्रममा संस्थाले आफ्नो मातृदेश नेपालबाट अमेरिकाका आफ्नो परिवार भेटघाटका क्रममा आएका आफन्तहरूलाई यसरी स्वागत तथा सम्मान गर्न पाउनु आफ्नो शौभाग्य भएको बताए ।
त्यस्तै, उनले वनभोज कार्यक्रममा मिठा–मिठा खानाका परिकारहरू तयार गर्ने सम्पूर्ण स्वयं सेवकहरु श्यामा राई, प्रेमा गुरुङ राई, प्रमिला राई, कमला राई, शोभा राई, भोज कुमारी राई, विशेष सेफ तथा केन्द्रीय कोषाध्यक्ष राजन कुथुमी र च्याप्टर वोर्ड सदस्य यूवराज राई, विशाल थापालगायत स्पटमा खटिएका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गरे ।
यसका साथै पाहुनाहरूको तर्फबाट मनि कुमार राईले संस्थाले गरेको न्यानो स्वागत तथा सम्मानको लागि धन्यवाद दिदै संस्थाका सम्पूर्ण टिमलाई उन्नति र प्रगतिको लागि कामना गरे । उनले किरातहरू विश्व भरी यसै गरी फैलिनु पर्ने बताउँदै भनेका छन्, ‘हामी तीन चुला पुज्ने पारूहाङ्ग र सुम्निमाको सन्तान भएकोले एट्लान्टिक सागर जस्तै विशाल र शितल बन्न सक्नुपर्छ । हामीले वन पस्दा रूख चिन्न सक्नुपर्छ र गाउँ पस्दा मान्छे चिन्न सक्नुपर्छ ।’
त्यस्तै उनले आफूले सिकेको ज्ञान, शीप र धन मातृभूमी नेपालको लागि पनि उपयोग गर्नुपर्ने सुझाए । यसका साथै अर्का पाहुना असन राईले अमेरिकामा आएपछि ‘राईहरूको पनि संस्था छ’ भन्ने सुनेको तर, पहिलो पटक यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको वृहत वनभोज कार्यक्रममा सहभागी भई सम्पूर्ण किरात दाजुभाई तथा दिदी बहिनीहरूसँग भेटघाट गर्ने मौका पाउँदा र संस्थाको स्वगत र सम्मानले ज्यादै खुशी लागेको बताए ।
सदाझैँ यस वर्षको वनभोजमा पनि पोर्क र चिकेनको बीबीक्यूसहित विभिन्न नेपाली परिकारहरुको साथमा परम्परागत किराँतीको प्रख्यात परिकार “किनिमा र फर्सीको मुन्टा” पनि तयार गरिएको थियो । दिवा खानापछि वनभोजलाई स्मरणीय र मनोरञ्जनात्मक बनाउन च्याप्टरका महासचिव राकेश राईले बहुसंङ्ख्याक सदस्यहरुको सहभागितामा विङ्गो खेल, महिला तथा बालबालिकाहरुको लागि म्युजिकल चेयर र हाँडी फोर खेल रोचक ढंगले सञ्चालन गरेका थिए ।
हाँडी फोर खेलमा कसैले सफलता हात पार्न नसकेता पनि विंगो खेलमा विमला चाम्लिडः राई प्रथम, म्युजिकल चेयर खेलको एडल्ट समूहमा दुर्गा राई र दीपा राई क्रमशः प्रथम र द्वितिय भए । त्यस्तै, किड समूहमा लिली होसफिल्ड र स्वतन्त्र राई क्रमशः प्रथम र द्वितिय भएका थिए । विजेताहरूलाई अध्यक्ष कर्ण राईले नगद पुरस्कार प्रदान गरेका थिए ।
कार्यक्रमको अन्त्यमा च्याप्टरका कोषाध्यक्ष तथा गायक चन्द्र कुमार राईले सांगीतिक डीजे प्रस्तुत गर्दै सम्पूर्ण सहभागीहरूलाई एट्लान्टिक ओसनको किनारमा भरपूर मनोरञ्जन दिलाएका थिए । कार्यक्रमको प्रारम्भ केन्द्रीय महासचिव मुक्ति नारायण राई र दोस्रो तथा खेल सम्बन्धी मनोरन्जनात्मक कार्यक्रम न्यू इङ्गल्याण्ड च्याप्टरका सचिव राकेश राई र बोर्ड सदस्य यूवराज राईले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।