तस्वीरमा ‘लोखिम सरोकार समाज’को रक्तदान कार्यक्रम
काठमाडौं । ‘लोखिम सरोकार समाज–सोलुखुम्बु’ले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार समाजले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र त्रि.वि. शिक्षण अस्पताल–महाराजगञ्जको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त रक्तदान कार्यक्रममा ३१ जना भन्दा बढी ब्यक्तिले रक्तदान गरेका महासचिव कृष्ण बहादुर राईले जानकारी गराए । त्यस्तै उनले कसैको एक–एक थोपा रगतले अरु कसैको ज्यान बचाउँछ भने त्यो भन्दा पुण्य काम अरु नहुने बताए ।
त्यस्तै, कार्यक्रमका प्रमुख अतिथि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका प्रशासन प्रमुख भोज कुमार बस्नेतले ब्लड डोनेशन आफैमा ठूलो धर्म रहेको बताए । यसका साथै उनले मर्न लागेको विरामीलाई रगत दिएर हामीले बचाउँदै गरेको उल्लेख गर्दै मन्दिरमा गएर धर्म गर्न नपर्ने बताए ।
उनले भनेका छन्, ‘सोलुखुम्बु जिल्लामा म पनि जन्मिएको थिएँ । साथीहरुले मलाई पनि आह्वान गर्नुभयो, हामीले ब्लड डोनेशन गर्दैछौं, यहाँका विरामीहरुलाई हामीले रगत दान गर्नेछौं भन्ने योजना ल्याउनुभयो । वास्तवमा यो ठूलो धर्म, समाज सेवा पहिलो धर्म र त्यसपछि ब्लड डोनेशन गर्ने साथीहरुको अर्को धर्म । किनभने हामीले एकजना विरामीलाई हामीले बचाउँदैछौं । त्यस कारण यो ठूलो धर्म हो, हामीले मन्दिरमा गएर धर्म गर्नु पर्दैन ।’
त्यस्तै उनले थपे, ‘यो ठूलो धर्मका लागि लोखिम सरोकार समाजलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु । आगामी दिनहरुमा यहाँहरुले फेरि यस्ता कार्यक्रमहरु गर्नुभयो भने तपाईहरुलाई फेरि पनि सहयोग गर्न तयार छौं ।’ यसका साथै उनले आफू त्रि.वि. शिक्षण अस्पतालमा रहेकाले आर्थिक सहयोग गर्न नसकेपनि आफ्नो भौतिक सहयोग रहने प्रतिबद्धता जनाए ।
त्यस्तै, कार्यक्रममा बोल्दै समाजका अध्यक्ष गेल्जेन शेर्पाले रगत दान नै ठूलो धर्म भएको बताए । उनले आफूलाई चाहिएको अवस्थामा रगत पाउन निकै कठीन परेको स्मरण गर्दै अन्य विरामीलाई रगतको अभाव नहोस् भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । साथै उनले रक्तदान कार्यक्रमलाई समाजको नियमित वार्षिक कार्यक्रमको रुपमा राखिने पनि जानकारी गराए ।
त्यस्तै, समाजका बरिष्ठ सल्लाहकार सल्लाकार भलकाजी राईले त्रि.वि. शिक्षण अस्पताल र मनमोहन कार्डियोथोरासिकसँगको सहकार्यमा रक्तदान कार्यक्रम गर्न पाउँदा निकै खुसी लागेको बताए । उनले भनेका छन्, ‘हामीले विगतका दिनमा पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छौं । हामीले जनसेवाको भावनाले काम गर्दै आएका छौं । त्रि.वि. शिक्षण अस्पतालसँग सहकार्य गरेर रक्तदान गर्न पाउँदा निकै खुसी छु ।’
‘लोखिम सरोकार समाज–सोलुखुम्बु’ले स्थापनाकालदेखि नै सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमको समग्र बिकासमा टेवा पु¥याउँदै आएको छ ।