भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं । ऐतिहासिक जित निकाल्दै नेपाल घरेलु मैदानमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनशीप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १–० गोल अन्तरले पराजित गर्दै नेपालले फाइनल पक्का गरेको हो ।
महिला साफको इतिहासमा भारतमाथि नेपालको यो पहिलो ऐतिहासिक जित हो । नेपालले यसअघि महिला साफमा भारतलाई हराउन सकेको थिएन । साविक उपविजेता रहेको नेपाललाई जित दिलाउन रश्मी कुमारी घिसिङले नर्णायक गोल गरिन् ।
प्रीति राईको पासमा पहिलो हाफको इन्जुरी समयमा रश्मीले निर्णायक गोल गर्दै नेपालको जित सुनिश्चित गरेकी हुन् । नेपालले जारी प्रतियोगितामा अहिलेसम्म हार व्यहोरेको छैन ।
समूह चरणका सबै खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो । साथै भारत भने पहिलोपटक सेमिफाइनलबाट बाहिरिएको छ । भारत यसअघिका सबै संस्करणको विजेता हो । भारतको हारसँगै प्रतियोगिताले नयाँ साफ महिला च्याम्पियन पाउनेछ ।
नेपाल भने पाँचौं पटक फाइनलमा प्रतिष्पर्धा गर्दैछ । यसअघिका सबै खेलमा भारतले फाइनलको यात्रा तय गरेको थियो । पहिलो सेमिफाइनलमा भूटानलाई ८–० ले हराएर बंगलादेश फाइनल प्रवेश गरिसकेको छ । नेपालले सोमवार हुने फाइनलमा बंगलादेशको सामना गर्नेछ ।