विद्युतीय गाडीको आकर्षण बढिरहेको बेला ‘ह्वाजी मिनी ईभी’को विक्री तिरण गरिँदै

काठमाडौं । चीनमा उत्पादित विद्युतीय गाडी ह्वाजी मिनी इभी अब नेपालमा पनि ५ रङमा उपलब्ध हुने भएको छ । बढ्दो पेट्रोलियम पर्दाथको मूल्यका कारण नेपालमा पनि विद्युतीय सवारी साधनको आकर्षण बढिरहेका बेला ह्वाजी मिनी इभीले सेतो, रातो, कालो, पहेँलो र हरियोसहित पाँच रङको विकल्पसहित करिब एक महिनामा काठमाडौंबाट बिक्री वितरण सुरू गर्ने तयारी गरेको हो ।
जसका लागि उत्पादक कम्पनी ह्वाजी भेहिकल्स र हिमालयाज भेहिकल भेञ्चर (एचभीभी) प्रालिबीच आधिकारिक सम्झौता भइसकेको छ । कम्पनीका प्रतिनिधि पशुपति दवाडीका अनुसार अबको करिब १ महिनामा काठमाडौंमा ह्वाजी मिनी इभीको शोरुम र सर्भिस सेन्टर सञ्चालनमा ल्याइने भएको छ ।
उपभोक्ताहरुले यसको डिजाइन तथा फिचरबारे जिज्ञासा राखिरहेको बेला ह्वाजी मिनी इभी परम्परागत चारपाङ्ग्रे मोटरकै डिजाइनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधि दवाडीका अनुसार यसको अग्रभागको दुई छेउमा गोलाकार हेडल्याम्प हुनेछ भने मध्यभागमा ह्वाजी मिनी इभीको लोगो हुनेछ ।
५ दशमलव ५ इन्चको एलसीडी इन्स्ट्रुमेन्ट कन्सोल तथा ब्लुटुथ कनेक्टिभिटीसहितको ९ इन्चको इन्फोटेन्मेन्ट सिस्टम रहने ह्वाजी मिनी इभीमा आकर्षक लेदर–सिट उपलब्ध छ । यसको अर्को सकारात्मक पक्ष यसको ब्याट्री पनि हो ।
जुन ह्वाजी मिनी इभीमा १८ दशमलव ४३ केडब्ल्यूएच लिथियम–आयन ब्याट्री जडान गरिएको कम्पनीले जनाएको छ । ह्वाजी मिनी इभीको मूल्य एक सातामा सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।