लाँकुरी भञ्ज्याङमा ‘द टेरेस रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, यस्ता छन् सुविधाहरु…

काठमाडौं । काठमाडौं उपत्यका नजिकै आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाई जस्तै बनेको छ ‘लाँकुरी भञ्ज्याङ’ । लाँकुरी भञ्ज्याङबाट काठमाडौं उपत्यकालाई नियाल्नका साथै विभिन्न हिमालयको दृश्यावलोकनसमेत मज्जाले गर्न सकिन्छ । सोही अवसरलाई मध्यनजर गर्दै पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नि समूहले ‘द टेरेस रिसोर्ट एण्ड स्पा’सञ्चालनमा ल्याएका छन् ।
४० रोपनी जमीनमा फैलिएको सुविधा सम्पन्न ‘द टेरेस रिसोर्ट एण्ड स्पा’सञ्चालनमा आएसँगै भक्तपुर र ललितपुरको संगमस्थल लाँकुरी भञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज बन्ने भएको छ । काठमाडौं उपत्यका तथा शान्त वातावरणमा विभिन्न हिमालहरुको मनमोहक दृश्यावलोकन रिसोर्टको शयन कक्षबाटै गर्न सकिन्छ ।
यस्ता छन् सुविधाहरु…
४० रोपनीमा फैलिएको यस रिसोर्टमा दुई वटा स्वीट रुम रहेका छन्, भने लिभिङ रुम, बेडरुम, बाल्कोनी, ज्याकुजीसहितको उक्त रुमहरू विलासी पर्यटक लक्षित रहेका छन् । होटलका सञ्चालक तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाका अनुसार विलासी पर्यटकहरूलाई लक्षित गरेर १६ वटा डिलक्स रुमको व्यवस्था गरिएको छ ।
यसका साथै मध्यमवर्गीय पर्यटकहरुलाई लक्षित गरी स्टाण्डर्ड रुमको व्यवस्था पनि गएिको छ । रिसोर्टमा खुला स्वीमिङ पुल र ज्याकुजी पनि रहेको छ । साथै पाहुनाहरूको मनोरञ्जनको लागि २ वटा विलियर्ड रुम पनि रहेका छन् ।
यस रिसोर्टमा योगा, स्पा र जिमका छुट्टा–छुट्टै कक्षहरू रहेका छन् । यहाँ नेपाली, भारतीय, कन्टिनेन्टल र भूमध्यसागरीय क्षेत्रका परिकारहरू पाइने जानकारी गराइएको छ ।
सगरमाथादेखि धवलागिरी हिमश्रृंखलासम्मका मनमोहक दृश्यावलोकन गर्न सकिने
कतिपय बाह्य पर्यटकहरु हिमालहरुको दृश्यावलोकन गर्नकै लागि नेपाल आउने गरेका छन् । जानकारी अनुसार यस रिसोर्टबाट सोलुखुम्बुको सगरमाथादेखि पश्चिमको धवलागिरीसम्मका हिमश्रृंखलाका मनमोहक दृश्यहरु देख्न सकिन्छ । जहाँ जुगल, गौरीशंकर हिमाल तथा लाङटाङ हिमालसमेतको दृश्यावलोकन गर्न सकिने बताइएको छ ।
यस रिसोर्टबाट देखिने काठमाडौं उपत्यका र हिमाली क्षेत्रको दृश्यले जोकोहीलाई लोभ्याउँछ नै । साथै रिसोर्टबाट रातिको समयको काठमाडौं उपत्यकाको दृश्य अझ मनमोहक देखिन्छ ।
८०० रोपनी जंगल लिजमा
यस रिसोर्टको वरिपरिको वन–जंगल नमासियोस् भन्नका लागि ८०० रोपनी जंगल लिजमा समेत लिइएको छ । उक्त जंगल तारबार गरी संरक्षण गरिएको छ । प्रकृतिप्रेमी पर्यटकका लागि उक्त जंगल वरदान हुने बताइएको छ । जानकारी अनुसार जंगलमा रुख–विरुवालाई असर नपर्ने गरी तरकारी र जडिबुटी खेती गर्ने योजना रहेको छ ।
३८ वर्षअघिको योजना पूरा
रिसोर्ट सञ्चालक तथा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले ३८ वर्षअघि नेपाल आउने विलासी पर्यटकहरूलाई काठमाडौं नजिक तथा शान्त वातावरणमा रिसोर्ट बनाउने सोचसहित लाँकुरी भञ्ज्याङमा जग्गा खरिद गरेका थिए ।
व्यवसायी शेर्पाको उक्त योजना अहिले आएर साकार भएको छ । ३८ वर्षअघि सामान्य खेतीपाती गर्ने जग्गा किनेर पर्यटकीय स्थल बनाउने सोचलाई शेर्पाले अहिले आएर वास्तविकतामा परिणत गर्न सफल भएका हुन् ।