प्रधानमन्त्री प्रचण्ड न्युयोर्क प्रस्थान
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार साँझ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री प्रचण्डलाई सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख/प्रतिनिधिलगायत व्यक्तिले बिदाइ गरेका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डले आउँदो असोज ४ गते महासभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । न्युयोर्कमा रहँदा उनले संयुक्त राष्ट्रसंघको दिगो विकास र जलवायुसम्बन्धी शिखर सम्मेलनलगायत कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।