गुगलले ल्याउँदै च्याटजीपीटी जस्तै एआई ‘जेमिनी’

काठमाडौं । गुगलले ओपनएआईको जीपीटी-फोरसँग प्रतिस्पर्धा गर्ने उद्देश्यकाे जेमिनी (Gemini) एआईको प्रारम्भिक भर्सन सार्वजनिक गरेकाे छ । गुगलले केही कम्पनीहरूलाई उक्त एआई प्लेटफर्ममा पहुँच दिएको बताइएकाे छ ।
च्याटजीपीटी जस्तै कुराकानी गर्न सक्ने भनिएको यस एआईलाई सफल बनाउन गुगलले ठूलाे लगानी गरेकाे छ।
गत वर्ष सार्वजनिक भएको ओपनएआईको च्याटजीपीटीको सफलता देखेर त्यस्तै जेनेरेटिभ एआई प्रविधि विकास गर्न गुगल लागि परेकाे छ . त्यसैले पनि जेमिनी गुगलका लागि महत्त्वपूर्ण छ ।
जेमिनी एउटा लार्ज ल्याङ्ग्वेज मोडल हो । यसले च्याटजीपीटी जस्तै सारासं लेख्ने, कविता, गीत लेख्ने, ईमेलको ड्राफ्ट बनाउने लगायतका काम गर्न सक्ने रिपोर्टमा उल्लेख छ । त्यस्तै सफ्टवेयर इन्जिनियरलाई कोड लेख्न सघाउने र तस्वीरहरू जेनेरेट गर्ने पनि बताइएको छ ।
गुगलले हाल डेभलपरहरूलाई परीक्षणका लागि जेमिनीको पछिल्लो संस्करणमा पहुँच दिएको, तर त्यसभन्दा पनि शक्तिशाली संस्करण विकास गरिरहेको जनाइएको छ ।