Logo २०८१ मंसिर २६ बुधबार
अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार छ : प्रधानमन्त्री दाहाल

अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार छ : प्रधानमन्त्री दाहाल


infotainment प्रकाशित मिति : बिहिबार, असोज २५ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज काठमाडौँमा आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निजी क्षेत्रले प्रस्ताव गरेको उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार रहेको बताउनुभएको हो ।

“अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र एक ठाउँमा हुने र केन्द्रीकृत अभिव्यक्ति आवश्यक छ । आर्थिक सुधारको नयाँ आयाम सुरु गर्नका लागि सुझाव र मार्गदर्शन आवश्यक पर्ने भएकाले त्यस्तो संयन्त्र चाहिएको छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “सुधारको प्रयास यही विन्दुबाट सुरु हुन सक्दछ । आर्थिक गतिविधि अगाडि बढ्न सक्छन् । निजी क्षेत्रले प्रस्ताव गरेको यस्तो उच्चस्तरीय संयन्त्र बनाउन सरकार तयार छ ।”

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित सो राष्ट्रिय बहस कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकालले सो संयन्त्र निर्माणको प्रस्ताव गर्नुभएको थियो । त्यसपछि कार्यक्रमलाई सम्बोधन गर्नुभएका प्रधानमन्त्रीले सो संयन्त्र गठनमा सहमति जनाउनुभएको हो ।

अर्थतन्त्र सुधारका लागि सरकारले कुनै साहसिक निर्णय (बोल्ड डिसिजन) लिन लागेको बताउनुहुँदै प्रधानमन्त्री दाहालले सामान्य शल्यक्रिया ९माइनर अपरेसन० बाट मात्र मुलुकको समग्र आर्थिक अवस्थामा सुधार सम्भव नरहेको बताउनुभयो । “सुधारको बाटो समाउँदा समाउँदै पनि अर्थतन्त्रको मूल समस्या समाधान भएको छैन । टालटुले तरिकाका सुधारका काम पर्याप्त छैनन् । पोलिसी सिफ्ट नै गर्नुपर्ने हुन्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

वित्त नीतिसँग मौद्रिक नीतिको सामाञ्जस्यता मिलाउन सरकारले लामो प्रयास गरेको पनि प्रधानमन्त्री दाहालको भनाइ छ । निजी क्षेत्रलाई व्यवसायमा सरकारले सहजीकरण गरिदिएन भने मुलुकको समग्र आर्थिक अवस्था सुधार हुन नसक्ने पनि उहाँले दाबी गर्नुभयो । त्यस्तै, नेपालको अर्थतन्त्रमा देखिएका समस्या कसरी समाधान गर्ने भनेर नेपाल आफैँले निर्णय लिने उहाँको भनाइ छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा राखिएका विषय कार्यान्वयनमा केही समस्या देखिएको भए पनि आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममार्फत् सरकारले मुलुकको अर्थतन्त्रको पुनर्संरचना गर्ने प्रधानमन्त्री दाहालले बताउनुभयो ।

सोही कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जबर्जस्ती अर्थतन्त्र खराब छ भन्ने भाष्य बनाएर नागरिकको मनोबल गिराउने काम भइरहेकाले यसलाई सुधार्नुपर्ने बताउनुभयो । “अहिले अर्थतन्त्र उभो लाग्न नसकेपनि ओरालो लागेको छैन । मुलुक सङ्कटग्रस्त भयो भन्ने भाष्य बनाउँदै जाने हो भने यसले थप समस्या हुन्छ”, उद्योगमन्त्री रिजालले भन्नुभयो, “हामी सबै मिलेर जाने हो । निजी क्षेत्रले हात उठाउने हो भने सरकार मात्रले केही गर्न सक्दैन ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र सुधारका लागि सो संरचना गठनको प्रस्ताव गर्दै समस्या समाधानका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताउनुभयो । “अहिलेको अवस्था हामी सबैको गुण दोषबाट आएको समस्या हो । सबै मिलेर समधान गर्नुपर्छ । सबै पक्ष एक ठाउँमा आउन पहल गरौँं”, उहाँले भन्नुभयो, “निजी क्षेत्रको सहभागितासहितको अर्थतन्त्र सुधार आयोग गठन गरौँ । प्रधानमन्त्रीले नेतृत्व गर्ने यस्तो आयोगमा अर्थमन्त्रालय, उद्योग मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकलगायत नियामक निकाय र निजी क्षेत्रले अवैतनिक रूपमा काम गरौंँ ।”

नयाँ चरणको आर्थिक सुधारको खाँचो औँल्याउनुहुँदै अध्यक्ष ढकालले सुधारको त्यो प्रक्रियामा निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्ने बताउनुभयो । नेपालमा लगानी नआउनुको कारण सरकारी ढिलासुस्ती रहेको उहाँले दाबी गर्नुभयो । चालु आर्थिक वर्षको बजेटमार्फत् आर्थिक मन्दिको समस्या समाधान गर्नेगरी व्यवस्था ल्याइएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको अध्यक्ष ढकालले बताउनुभयो । त्यस्तै, निजी क्षेत्रले मौद्रिक नीतिका लागि दिएका सुझाव पनि कार्यान्वयन हुन नसकेको उहाँको भनाइ छ ।

कुन गार्हस्थ्य उत्पादन (जिडिपी) को ९० प्रतिशत ऋण प्रवाह भइसक्दा पनि आर्थिक वृद्धिदर किन कम देखियो र हाल प्रवाह भएको कर्जा अनुत्पादक क्षेत्र वा उत्पादन क्षेत्रमा गएको छ भनेर पनि हेर्नुपर्ने ढकालको भनाइ छ । निजी क्षेत्र उद्योगधन्दामा भन्दा व्यापारमा बढी केन्द्रित भएको भन्ने आरोप लाग्ने गरेको, डेडिकेटेड ट्रकलाइन बक्यौता महसुल समस्याले निजी क्षेत्रको मनोबल घटेकोलगायतका दृष्टान्त उहाँले पेस गर्नुभयो ।

अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार पोषराज पाण्डेले अर्थतन्त्रमा अहिले एकैपटक समस्या देखिएको नभइ विगतकै समस्याको निरन्तरताका रुपमा अहिले जटिल परिस्थिति सिर्जना भएको बताउनुभयो ।

“अर्थतन्त्रमा समस्या अहिले मात्रै देखिएका होइनन् । विगत देखिकै समस्यामाथि समस्या थपिँदै जाँदा अहिले ठूलो समस्या देखिएको हो ।” त्यस्तै, मुलुकको अर्थतन्त्रमा स्वार्थ समूह हाबी भएको पनि पाण्डेको दाबी छ ।

अर्थविद डा अच्युत वाग्लेले मुलुकको अर्थतन्त्रबारे सबैतिरबाट समान भाष्य स्थापित हुनुपर्ने बताउनुभयो । “सरकारले अर्थतन्त्र समस्यामा छैन भन्ने तर निजी क्षेत्रलगायतले समस्या छ भन्ने फरक–फरक भाष्य देखिन्छ । वास्तविक अवस्था के हो भनेर तथ्यमा आधारित भाष्य बनाउन जरुरी छ”, उहाँले भन्नुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले राखेको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नका लागि सोहीअनुसारको मौद्रिक नीति आउन आवश्यक रहेको बताउनुभयो ।

नेपालभित्रको स्रोतसाधन प्रयोग गरेर समृद्धि हासिल गर्न सकिने पनि उहाँले उल्लेख गर्नुभयो । अहिले अधिक तरलता हुँदासमेत कर्जाको माग बढ्न नसकक्नुको कारण खोजिनुपर्ने र घरजग्गाको कारोबार घट्दा त्यसबाट देखिएका बहुआयामिक प्रभावको विश्लेषण गरिनुपर्ने उहाँको भनाइ छ ।

नेपाल उद्योग परिसङ्घ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई पुनःसंरचना गर्नुपर्ने बेला आएको बताउनुभयो । अहिले अर्थतन्त्रमा उपभोग घट्दै गएको उल्लेख गर्नुहुँदै पाण्डेले यसलाई सुधार्न वित्तीय, मौद्रिक र संरचनागत नीतिको समन्वयकारी भूमिका रहनुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend