अझै पाँच दिन भारी वर्षा हुने, सही सूचना दिन मन्त्री पुनको निर्देशन

काठमाडौं, ५ साउन । न्यूनचापीय रेखा नेपाली आकाशमाथि आएर बसेकाले देशभर अझै पाँच दिनसम्म भारी वर्षा हुनेभएको छ ।
उक्त रेखा नहटेसम्म वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका महानिर्देशक सरजुकुमार बैद्यले मुलुकको मौसमी अवस्थाबारे आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई जानकारी गराएका थिए ।

सो क्रममा महानिर्देशक बैद्यले यही साउन ९ गतेपछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने जानकारी दिएका थिए । उनका अनुसार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा १०० मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको छ ।
यो मात्रा अझै बढेर २०० मिलिलिटर पानीपर्ने सम्भावना छ । न्यूनचापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वी पहाडी क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको बैद्यले बताए ।
महानिर्देशक बैद्यकाअनुसार पछिल्लो २४ घण्टामा बाराको कोल्दीमा सबैभन्दा बढी १६९ मिलिमिटर पानी परेको छ । यस्तै नवलपुरको डण्डामा १५०।६, तनहुँको श्याम्घामा १४८.८ तथा गोरखामा १४०।२ मिलिमिटर पानी परेको छ ।
यो परिमाणमा अझै वृद्धि हुने बैद्यले बताए । “यो पछिल्लो २४ घण्टाको विवरण हो”, बैद्यले भने, “यो अझै बढ्छ र धेरै स्थानमा २०० मिलिमिटरसम्म पानी पर्छ ।”